Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफर्निचर एक्स्पोको सबै तयारी पूरा

फर्निचर एक्स्पोको सबै तयारी पूरा


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को सबै तयारी पूरा भएको छ । ‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने थिममा आयोजना हुन लागेको एक्स्पोको सबै तयारी पूरा भएको फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवम् नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव सञ्जय लामाले जानकारी दिए ।

लामाका अनुसार एक्स्पोको उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री रमेश रिजालले बुधबार एक बजे उद्घाटन गर्ने भएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी प्रेस्टिज कार्पेट एसोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाई फर्निचर हब रहेको आयोजकको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डस्ट्रिज, सरावगी ओभरसिज र यति पोलिकेम रहेका छन् । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङ्से, भिवोन चियर र वेबट्युन रहेका छन् ।

असोज १० देखि १४ गतेसम्म पाँच दिनसम्म चल्ने एक्स्पोमा एक सयभन्दा बढी स्टलहरू रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकले जनाएको छ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्नका लागि सहज मार्ग निर्देशन गर्ने संघका महासचिव लामाले बताए । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने उनको भनाइ छ ।

प्रवेश निःशुल्क गरिएको एक्स्पोमा सहभागी हुने व्यवसायीले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको बताइएको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवसर पाउने अपेक्षा पनि आयोजकको भनाइ छ ।

एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ । ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त ब्रान्डको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुने बताइएको छ । एक्स्पो स्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि परामर्श सेवा पनि उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया