Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा रु. १७ हजार, यात्रुहरु मर्कामा

काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा रु. १७ हजार, यात्रुहरु मर्कामा


सुदूरपश्चिम । चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु. १७ हजार पु-याइएपछि मर्कामा परेका छन् ।

सम्भवतः देशको आन्तरिक हवाईसेवामा यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु. सात हजार नौसयबाट वृद्धि गरी रु. सत्र हजारभन्दा बढी पु-याएको यात्रुहरुले गुनासो गरेका छन् ।

यात्रु सन्तोष जोशीले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु. सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको जोशीको गुनासो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए । भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेका छन् ।

गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौंमा रु. चारसय र धनगढीमा रु. पाँच सय तोकिएको छ ।

हाल काठमाडौँ–धनगढीको भाडादर रु. १४ हजार सातसय एकदेखि रु. १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु. सात हजार नौ सय छ ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया