Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइसेवाको स्पिकर यन्त्र सार्वजनिक

इसेवाको स्पिकर यन्त्र सार्वजनिक


काठमाडौं । इसेवाले डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने स्पिकर यन्त्र सार्वजनिक गरेको छ । सिम कार्ड तथा वाईफाईमार्फत इन्टरनेटमा जोडिएर स्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिनसक्ने इसेवाले जनाएको छ ।

यार्सा टेकसँगको सहकार्यमा बनाइएको स्पिकर यन्त्र पूर्णतः नेपालमै बनेको यन्त्र रहेको इसेवाले जनाएको छ । स्पिकर एक अडियो अलर्ट यन्त्र हो, जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । यसअघि, क्यूआरमार्फत आएको भुक्तानी पूरा भए÷नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहीँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा समस्या खेप्नुपर्ने अवस्था थियो । त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन ।

एफ वान् सफ्ट ग्रुप टावरमा बुधबार भएको ीस्पकर यन्त्रको लोकार्पण समारोहमा एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्ने बताए । १५ वर्षदेखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृढ पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिए । त्यस्तै, कार्यक्रममा यार्सा टेकका सीईओ रहेका एनजे सुवेदीले दुई वर्षअघि खुलेको यार्सा टेकले केही समयदेखि यही यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए । इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने उनले बताए ।

कार्यक्रममा एफ वान सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधिसम्बन्धी धेरै कार्य गर्न सकिने बताए । उक्त कार्यक्रममा ढकालले नै दुई हजार पाँच सय रुपैयाँ पठाई यन्त्रले कसरी काम गर्छ भनेर नमूना देखाएका थिए । त्यस्तै, फोनपेका सीईओ दिवस सापकोटाले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए । त्यस्तै इसेवाका सीईओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रमका सञ्चालक इसेवा प्रालिका चिफ बिजनेस अफिसर आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिए ।

स्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पु-याउने विश्वास गरिएको छ । यसले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने बाध्यताबाट मुक्त गरिदिएको छ । स्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटिफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनुपर्ने बाध्यतालगायतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको छ ।

स्पिकर कसरी मगाउने ?
इसेवाको वेब वा एपको प्रयोग गरी सजिलै स्पिकर यन्त्र मगाउन सकिनेछ । यो यन्त्र अर्डर गर्नका लागि इसेवाको ‘न्यू सर्भिस’मा गई स्पिकर रिक्वेस्ट छान्नुपर्नेछ । उक्त फारम भरेर बुझाएपछि स्वीकृत भएपछि, नेपालभरी जहाँसुकै स्थानमा इसेवाले नै पु¥याउने बताइएको छ । स्पिकर यन्त्र दुईवटा तरिकाले मगाउन सकिनेछ । व्यवसायीहरूले एकमुस्ट रकम तिरेर वा मासिक महसुल तिरेर स्पिकर यन्त्र मगाउन सक्नेछन् । अहिलेका लागि व्यवसायीहरूले एकमुस्ट रकम तिरेर नै ीस्पकर मगाउन सक्नेछन् भने मासिक महसुल तिरेर स्पिकर मगाउने तरिका पनि छिटै ल्याउने इसेवाले जनाएको छ । एकमुस्ट रकम तिर्नेले वास्तविक मूल्य चार हजार रुपैयाँ तिर्नु पर्नेमा अहिलेको चाडपर्वको अवसरमा तीन हजार छ सय रुपैयाँमा नै स्पिकर पाउन सक्नेछन् । साथै उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको इसेवाले जानकारी गराएको छ । बुधबारदेखि स्पिकर यन्त्रको अर्डर गर्न सकिने र छठपछि व्यवसायीहरूले उक्त यन्त्र पाउने इसेवाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया