Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचन्द्रागिरीमा प्याराग्लाइडिङ

चन्द्रागिरीमा प्याराग्लाइडिङ


काठमाडौं । काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुद्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेन्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता समेत हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन् । चन्द्रागिरी (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भूत दृश्यहरूको अवलोकन गर्दै समुद्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिनेछ ।

रसुवा र धादिङका भू–भाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाले जो–कोहीलाई मोहित बनाउँछ । उडानको अधिकांश समय जंगलमाथि हुनेभएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमतिअनुसार एकै पटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए ।

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकावासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन् । ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु’, उनले भने । कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भइसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब छ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए । कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए । कम्पनीको सवारीमा जाने–आउने सुविधा नलिने नेपाली पर्यटकले सात हजार दुई सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् ।

प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुने उनले बताए । यसो हुँदा उडानका क्रममा हावाको वेगले अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ । चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेन्चर्सलाई उडान गर्नुभन्दा एक दिनअघि नै सम्पर्क गर्नुपर्नेछ । कम्पनीको वेबसाइटमार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया