Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआठौँ रियल स्टेट एक्स्पो पुस १२ गतेदेखि हुने

आठौँ रियल स्टेट एक्स्पो पुस १२ गतेदेखि हुने


काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले आगामी पुसमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ आयोजना गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।

नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्थाको रूपमा रहेको संघले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवद्र्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजना तथा सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो आठौँ एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट विन्दु हुने बताइएको छ । विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्तालाई प्रदर्शन गर्नेछन् भने उपभोक्ताले नेपालको आवास तथा जग्गा विकाससम्बन्धी समग्र पक्षहरूबारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए पनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शक समेतको सहभागिता हुने आयोजकले जनाएको छ । एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरूको चाहनाबमोजिमका सेवाहरू पनि उपलब्ध गराइने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया