Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्राहकको रोजाइमा एनटी फाइबर

ग्राहकको रोजाइमा एनटी फाइबर


काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रूचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महसुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको हो । फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।

यस्तै, पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर)मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको जनाएको छ । पहिले वाईफार्ईको बढ्दो प्रयोगका कारण दुई दशमलव चार गिगाहर्जको फ्रिक्वेन्सीमा निकै धेरै सिग्नलहरू रहने हुनाले सो फ्रिक्वेन्सीमा धेरै अवरोधको कारण वाईफार्ई भरपर्दो नहुने र सोको तुलनामा पाँच गिगाहर्जको फ्रिक्वेन्सीमा वाईफार्ई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुने कम्पनीले उल्लेख गरेको छ ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा
नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गतिअनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोकेबमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यसअनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।

एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा
टेलिकमले हाल १ जीबीपीएससम्म उच्च गतिको एक्सजिपोन प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उपलब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरूका लागि लाभदायक छ ।

जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१
आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवम् सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहनेले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी एफटीटीएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक सिकायत दर्ता गराउन पनि सकिन्छ ।

सुविधाका लागि नेपाल टेलिकम एप
नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यसपश्चात् कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाईफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

निःशुल्क ल्यान्डलाइन फोन
कम्पनीले एफटीटीएच सेवामा ग्राहकको आवश्यकताबमोजिमका विभिन्न प्याकेजहरू उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेटसहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ । यसअन्तर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्करूपमा असीमित टेलिफोन गर्न सकिन्छ ।

सातदेखि सातसम्मको मर्मत सुविधा
हाल एफटीटीएच मर्मतका लागि बिहान सात बजेदेखि बेलुकी सात बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरूमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यकाबाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासोलगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया