Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘समृद्धिका लागि प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ’

‘समृद्धिका लागि प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ’


काठमाडौं । सूचना प्रविधिसम्बन्धी व्यवसायलाई उच्च्तम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिन सक्ने यस क्षेत्रका जानकारहरूले बताएका छन् । प्रेसिडेन्सियल बिजनेस स्कुलले राष्ट्रिय सफ्टवेयर तथा सूचना प्रविधि संघ (नास आईटी)सँगको सहकार्यमा राजधानीमा आयोजना गरेको ‘प्रेसिडेन्सियल बिजनेस कन्क्लेभ—२०२३’ मा सहभागीहरूले हरेक नागरिकले सूचना प्रविधिको प्रयोगलाई अनिवार्यरूपमा आत्मसात गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला दिनहरूमा मुलुकले सूचना प्रविधिसम्बन्धी व्यवसायबाट अर्बौं रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएकाले स्पष्ट नीति र कार्यक्रम बनाउने हो भने यसको दायरा निकै फराकिलो बनाउन सकिने उनीहरूको भनाइ थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारको स्पष्ट नीति र जनस्तरमा चेतनाको अभावका कारण सूचना प्रविधिको क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको भन्ने सहभागीको गुनासालाई सम्बोधन गर्दै सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमै सूचना प्रविधिको विकासका सम्बन्धमा व्यवस्था गरेको र सोहीअनुसार नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए ।

विगतमा मन्त्रालयको तर्फबाट सूचना प्रविधिसम्बन्धी विधेयक बनाएर संसद्मै दर्ता गरे पनि विविध कारणले रोकिएको उनको भनाइ थियो । यही विषयमा फेरि यस क्षेत्रका सरोकारवालासँगको छलफलमा आफूहरू रहेको उनले बताए । स्वदेशमै बसेर सूचना प्रविधिसँग सम्बन्धित विदेशी संस्थामा काम गर्ने वातावरण बनेको बताउँदै दत्तले अब भने स्वदेशमै सूचना प्रविधि संस्था खोलेर विदेशमा गएका जनशक्तिलाई समेत स्वदेश फर्काउन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा मनीष पोखरेलले सूचना प्रविधिको विकासको लागि शैक्षिक संस्थाको पाठ्यक्रममा पनि सुधार गर्नुपर्ने बताए । अहिले विद्यार्थीको चाहना र शिक्षकको पढाउने शैलीमा एकरूपता नरहेको उनको भनाइ थियो । प्रेसिडेन्सियल बिजनेस स्कुलका प्राचार्य कल्पना गुरुङले सूचना प्रविधिको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न शैक्षिक संस्था र यस क्षेत्रमा कार्यरत रोजगार प्रदायक कम्पनीबीचको सहकार्य अनिवार्य रहेको बताइन् । सूचना प्रविधिको क्षेत्रमा भएको विकासकै कारण नेपालमा बसेरै थुप्रै व्यक्तिहरूले विदेशी संस्थामा रोजगारी प्राप्त गरिरहेका छन् । यसबाट विदेशी मुद्रा आर्जन गर्नका साथै मनग्य राजस्व सङ्कलन गरिरहेको छ ।

सरकारी तथ्याङ्कअनुसार गत वर्ष सूचना प्रविधिसम्बन्धी व्यवसायबाट विदेशी कम्पनीहरूलाई सेवा तथा प्रडक्ट बिक्री गरेर हाम्रो देशले ६७ अर्ब रुपैयाँ भित्रिएको थियो । कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक सुरेश मानन्धरले उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूले सूचना प्रविधिसम्बन्धी विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । विद्यार्थीलाई पढाइसँगै रोजगारी बजारमा पनि आबद्ध गराउनुपर्ने र प्रमाणपत्र हातमा परेपछि तत्काल रोजगारीमा जानसक्ने गरी सक्षम तुल्याउनुपर्ने उनको भनाइ थियो ।

नास्ट आईटीका अध्यक्ष रिचन श्रेष्ठले सूचना प्रविधिको पढाइ सकाएका विद्यार्थीलाई रोजगारीमा लगाउँदा फेरि तालिम दिनुपर्ने र यसले अनावश्यक व्ययभार थपिने गरेको गुनासो गरे । सूचना प्रविधिको पढाइ सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरूले विद्यार्थीलाई पढाइकै क्रममा तालिम दिनुपर्नेमा जोड दिए । अनौपचारिक तथ्याङ्कअनुसार मुलुकमा हरेक वर्ष दश हजार युवा सूचना प्रविधिको पढाइ सकेर रोजगारी बजारमा जान्छन् । तर विद्यार्थीहरू क्याम्पस गएपछि पढाइमा मात्रै घोत्लिनुपर्ने बाध्यताका कारण पढ्दै काम पनि गर्न पाउनुपर्ने अवसरबाट बञ्चित हुनुपरेको सूचना प्रविधिसँग सम्बन्धित संस्था लिपफ्रगका कैलाश विजयानन्द बताउँछन् ।

अबको विश्व बजारमा प्रतिस्पर्धा गर्ने हो भने सूचना प्रविधिको क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्नेमा सहभागीहरूको जोड थियो । यस्तै, कार्यक्रममा सूचना प्रविधिको विकासको लागि रूपान्तरणकारी सिकाइ प्रणालीको विकास गर्नुपर्ने, सूचना प्रविधिको भविष्य तथा जनशक्तिको आउट सोर्सिङको प्रभावकारिता तथा यसको लागि नीतिगत व्यवस्थाका बारेमा प्यानल छलफल भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया