Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीएनआईवाईईएफ स्टार्टअप फेस्ट हुने

सीएनआईवाईईएफ स्टार्टअप फेस्ट हुने


काठमाडौं । देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईईएफ स्टार्टअप फेस्ट २०२३ काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते सो फेस्ट आयोजना गर्न लागेको हो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंकको आयोजनामा सीएनआईवाईईएफ स्टार्टअप फेस्ट हुन लागेको हो । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवम् नीतिगत बहस गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो । स्टार्टअपलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ । फेस्टमा नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गराउन उनीहरूलाई लगानी जुटाएर प्रोत्साहन गरिने छ । साथै, नीतिगत सुधार एवम् नीति निर्माणका लागि सरोकारवालाबीच गहन छलफल गरिने बताइएको छ । स्टार्टअप प्रवर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिहरूका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् बताइएको छ ।

फेस्टमा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेस्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरूले लगानीको प्रतिबद्धता जनाई आशयपत्रमा हस्ताक्षर गर्ने बताइएको छ ।

पुँजी लगानीका लागि टेली भेन्चर, एनआईएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन् । स्वदेशी एवम् विदेशी विज्ञहरूबाट स्टार्टअपको विषयमा प्रस्तुति हुने फेस्टमा विभिन्न विषयमा समूहगत छलफल हुनेछ । यसैगरी मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध स्वदेशी कम्पनीहरूको प्रदर्शनी एवम् स्टार्टअप्सले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन् । सीएनआईवाईइएफ स्टार्टअप फेस्टको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो । सो फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटेको आयोजकको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया