Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान सेवा पुन: सुरु

हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान सेवा पुन: सुरु


काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुरु गरेको छ । कम्पनीले मंगलबारदेखि उडान सेवालाई पुनः सुरु गरेको हो । कम्पनीको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मंगलबार बिहान १०ः०७ बजे एक सय २५ यात्रु बोकेर चोङकिङ प्रस्थान गरेको थियो ।

काठमाडौंबाट उडेको एच नाइन ७८७ मंगलबार नै चोङकिङकोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार अपराह्नको ३ः५० बजे अवतरण गरेको छ । यस उडानको अवधि तीन घण्टा १४ मिनेटको रहेको कम्पनीले जनाएको छ । यस्तै, चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि फिर्ती भएको उडान काठमाडौंमा मंगलबार साँझको ६ः३५ मा अवतरण गरेको छ ।

कम्पनीले अब हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्सको यो चौथो सिधा उडान सेवा हुनेछ । कम्पनीले यसअघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमितरूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले यो सेवा विस्तारलाई नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रूपमा लिएको जनाएको छ । कम्पनीका अनुसार यस रुटको पुनः सुरुवातले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्नुको साथै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया