Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल थाल्ने

काठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल थाल्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेका रुसी महासंघको व्यवसायिक प्रतिनिधिबीच भेटवार्ता भएको छ । आज(शुक्रबार) भएको भेटवार्तामा रुसी महासंघको प्रतिनिधि मण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल हुनुपर्नेमा जोड दिएका थिए ।

काठमाडौंको जमलस्थित चेम्बरको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको छ । सो अवसरमा अध्यक्ष मल्लले भने, ‘नेपाल रुसबीचको कुटनीतिक सम्बन्ध बलियो छ । सयौँ नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सालगायतका विषय अध्ययनका लागि जाने गरेका छन । रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्दर्भमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुबै मलुकलाई फाईदा पुग्छ ।’

नेपालमा काठमाडौंसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड थियो ।

नेपालको कृषि, पर्यटन, उद्योग एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । उनले रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि चेम्बरले पहल गर्ने बताएका छन् ।

चेम्बर पदाधिकारीहरुसँगको भेटमा रुसी महासंघको व्यवसायिक प्रतिनिधि मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफूहरुले पहल गर्ने बताएका छन् । हवाई सम्पर्क स्थापित गर्नका लागि दुबै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यपारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ । साथै, उक्त भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजार बारे चासो राखेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया