Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन

चोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन


काठमाडौं । काठमाडौंको चोभारस्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब चार सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ ।

जिपलाइन खेल्दा गरिने अनुभूतिअनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ । जिपलाइनको नायिका वर्षा राउतले शनिबार उद्घाटन गरेकी छन् । जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृंखला देख्न सकिन्छ ।

जेबी एड्भेन्चर प्रालिले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृति लिएपश्चात् जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए । दैनिक तीन सयदेखि तीन सय ५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । एक सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए । कम्पनीले जिपलाइनको पूरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने पाँच सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ । यस्तै, टेण्डम (जोडी) जिपलाइन एक हजार पाँच सय रुपैयाँमै गर्न सकिन्छ । विद्यार्थी (परिचयपत्रसहित) र कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्न लागेको जनाएको छ । जिपलाइन पनि सोहीअन्तर्गतको परियोजना हो । कम्पनीका निर्देशक महर्जन जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमशः अन्य गतिविधि पनि लञ्च गर्ने बताउँछन् । कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङलगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने महर्जनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया