Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरुकुम पूर्वमा टेलिकमले एनटी फाइबर सेवा उपलब्ध गराउने

रुकुम पूर्वमा टेलिकमले एनटी फाइबर सेवा उपलब्ध गराउने


काठमाडौं । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी गरेको छ । कम्पनीले सो सेवा सञ्चालन गर्ने तयारी स्वरूप आइतबारदेखि रुकुमकोटमा परीक्षण सेवा प्रारम्भ गरेको जनाएको छ ।

कम्पनीका अनुसार अब अन्तिम प्राविधिक परीक्षणपश्चात् छिट्टै ग्राहकहरूमा समेत सेवाको सुरुवात गरिनेछ । यसका लागि रुकुमकोटमा दुईवटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ । हाल रुकुमकोटमा रहेका करिब दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रूपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध
गराइने छ ।

यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ । टेलिकमले एनटी फाइबरअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया