Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१० दिने दोलखा महोत्सव हुँदै

१० दिने दोलखा महोत्सव हुँदै


काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १० दिने बृहत् दोलखा महोत्सवको तयारी पूरा भएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

‘दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्ने मुख्य नाराका साथ पुस १३ गतेदेखि २२ गतेसम्म चरिकोटस्थित भीमेश्वर रंगशालामा महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । राजधानी काठमाडौंबाट नजिकै रहेको दोलखाको आर्थिक क्रान्तिका आधार तय गर्ने लक्ष्य बोकेर महोत्सवको आयोजना गर्न लागेको उनले बताए । उनका अनुसार महोत्सवको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् ।

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवर्द्धन गर्ने गरी एक सय ५० वटा स्टल राखिने अध्यक्ष श्रेष्ठले बताए । सबै स्टलहरू बुकिङ भइसकेकाले आइतबार साँझबाटै स्टल ‘बुकिङ क्लोज’ समेत भएको उनले जानकारी दिए । स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन, सामग्रीलगायत प्रदर्शनीका लागि राखिनेछन्, साथै विभिन्न खानाका परिकारहरू स्टलमै उपलब्ध हुनेछ ।

यस्तै, अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु इयर इभ’का रूपमा चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘न्यु इयर इभ’ मनाउने संसारभरको प्रचलनअनुसार दोलखा भ्रमणमा आएका पर्यटकको स्वागतका लागि सो फेस्टिभलको आयोजना गर्न लागिएको उनले बताए । उनका अनुसार नयाँ वर्षको अघिल्लो दिन दिनभर र मध्यरातसम्म साथै महोत्सव अवधिभर अन्य दिनहरूमा साँझदेखि स्ट्रिट फुड फेस्टिभल हुनेछ । यो फेस्टिभलको नारा ‘सडकमै खाउँ, सडकमै नाँचौँ, सडकमै रमाऔँ’ राखिएको छ ।

यस्तै, महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी साथै वृत्तचित्र प्रदर्शनी समेत गरिने संघले जनाएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ भने चरिकोट टुँडीखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिताहरू, विद्यालयस्तरीय प्रतियोगिताहरू सञ्चालन गरिने बताइएको छ । महोेत्सवमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषीका कला संस्कृति समेटिएको झाँकी प्रदर्शन गरिनेछ ।

दोलखालाई लगानीमैत्री जिल्लाका रूपमा विकास गर्ने संघको उद्देश्यअनुरूप महोत्सवकै दौरानमा छुट्टै लगानी सम्मेलन समेत गरिने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, जिल्लाका सांसदहरू, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलगायतको उपस्थितिमा लगानीसम्बन्धी छलफल समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै, उनले दोलखाको आर्थिक विकासका लागि हातेमालो गर्न सरकारका सबै निकायसँग आग्रह गरे ।

दोलखाका चरिकोट बजार, जिरी, दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, बिगु गुम्बा, बजार, रोल्वालिङ उपत्यका, हनुमन्ते डाँडालगायतका प्रख्यात पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गरिदिन समेत उनले आग्रह गरे ।

१० दिनसम्म चल्ने महोत्सवमा करिब पाँच करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । यस्तै, तीन लाखभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । महोत्सवको अवसरमा दोलखा जानेलाई रोल्वालिक यातयात र पूर्वअरनिको यातायातले टिकटमा विशेष छुट प्रदान गर्ने भएका छन् भने कालिञ्चोक केबलकारले समेत महोत्सवको अवसरमा कालिन्चोक दर्शन गर्नेलाई विशेष छुट दिने भएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया