Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यापारीको दबाबपछि सुपारी र मरिच आयात गर्न अनुमति

व्यापारीको दबाबपछि सुपारी र मरिच आयात गर्न अनुमति


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी र मरिच आयात गर्न केही सीमित व्यापारीलाई अनुमति दिएको छ । सुपारी, केराउ र मरिच आयात गर्न व्यापारीले सरकारलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले औद्योगिक प्रयोजनका लागि केही सीमित उद्योगलाई सुपारी र मरिच आयात गर्न अनुमति दिएको हो ।

मन्त्रालयले परिमाणसहित सातवटा उद्योगलाई सुपारी र मरिच आयातको अनुमति दिएको हो । श्रीराम टोवाको उद्योग प्रालि, मधु प्रोडक्स, श्री देउती गुड्का इन्डस्ट्रिज, महाशक्ति गुड्खा उद्योग, विजार्ड फ्रेगनेन्स इन्डस्ट्रिज, नारायणराज प्रोडक्स, यशोदा फुड्स प्रालि र मोहित स्पाइसेस एन्ड प्रोडक्ट्स प्रालिलाई सुपारी र मरिच आयात गर्न अनुमति दिएको हो ।

मन्त्रालयले चालू आर्थिक वर्षमा औद्योगिक प्रयोजनका लागि मात्र सुपारी, केराउ र मरिच आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद्बाट पास भएपछि आयात गर्न दिएको हो । सरकारले निर्णय गर्दै चालू आर्थिक वर्षको कात्तिकको पहिलो सातादेखि औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको अयाात खुला गरेको थियो भने सोसँगै उद्योगी एवं व्यवसायीहरूले आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा आवेदन दिएका थिए । उद्योग मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयातको परिमाणसहित आवेदन दिन आग्रह गरेको थियो ।

चालू आर्थिक वर्षका लागि सुपारीतर्फ श्रीराम टोवाले दुई हजार तीन सय ३१ दशमलव तीन मेट्रिक टन, मधु प्रोडक्स विराटनगरले ८४ दशमलव ६५ मेट्रिक टन, श्री देउती गुड्का इन्डस्ट्रिज बाँकेले तीन सय ४४ दशमलव आठ मेट्रिक टन, महाशक्ति गुड्खा उद्योग कपिलवस्तुले ५२ मेट्रिक टन आयात अनुमति पाएका छन् । विजार्ड फ्रेगनेन्स इन्डस्ट्रिज रूपन्देहीले छ सय छ मेट्रिक टन, नारायणराज प्रोडक्स झापाले २४ मेट्रिक टन र लुम्बिनी पान मसला उद्योगले १६ मेट्रिक टन सुपारी आयात गर्न अनुमति पाएका छन् ।

त्यस्तै मरिच आयात गर्न अनुमति लिनेमा मसला र चाउचाउ उद्योगहरू छन् । उनीहरूले सेतो र कालो मरिच आयातको अनुमति पाएका छन् । चालू आर्थिक वर्षका लागि यशोदा फुड्स प्रालि भैरहवाले कालो मरिच ११ मेट्रिक टन र सेतो मरिच पाँच मेट्रिक टन, मोहित स्पाइसेस एन्ड प्रोडक्ट्स प्रालि काठमाडौंले कालो मरिच २७ दशमलव ४२ मेट्रिक टन, श्री दुगड स्पाइसेस एन्ड फुड्स प्रोडक्ट्स प्रालिले कालो मरिच ५६ मेट्रिक टन र सेतो मरिच २६ दशमलव ३९ मेट्रिक टन, त्रिमूर्ति इन्डस्ट्रिज प्रालि रूपन्देहीले कालो मरिच ११ मेट्रिक टन र सेतो मरिच एक दशमलव ४८ मेट्रिक टन आयात गर्न अनुमति पाएका छन् । त्यस्तै डाबर नेपालले तीन सय १९ मेट्रिक टन, एसियन थाइफुड प्रालिले ३२ मेट्रिक टन र श्री गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिले ५९ दशमलव ७७ मेट्रिक टन कालो मरिच आयात गर्न अनुमति पाएको वाणिज्य विभागले जनाएको छ ।

आयात गरिएको सुपारी तथा मरिच आफ्नै उद्योगको औद्योगिक प्रयोजनमा खपत गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । मन्त्रालयले सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ को सर्तबमोजिम ती वस्तुहरूको उद्योगी तथा व्यवासयीहरूलाई आयात गर्न दिएको कारण आफ्नै उद्योगको औद्योगिक प्रयोजनका लागि मात्र खपत गर्नुपर्नेछ । यदि कार्यविधिविपरीत काम गरेमा उद्योगी व्यवसायीलाई कानुनसम्मत कारबाही गरिने मन्त्रालयले बताएको छ । सुपारी, केराउ र मरिच स्वेदशमा उत्पादन नहुने हुँदा तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निकासी गर्ने उद्योगी तथा व्यवसायीहरूको प्रवृत्तिले गर्दा तस्करीको सम्भावना छ । तेस्रो मुलुकबाट आयात गरी भारतमा तस्करी गर्ने प्रवृत्तिका कारण पछिल्लो समय सुपारी र मरिच आयात पनि व्यवसायीको दबाबमा खुला गरेको आरोप मन्त्रालयलाई लागेको छ तर मन्त्रालयका अधिकारीहरू सो कुरा स्वीकार गर्दैनन् । उनीहरू मुलुकमा गुट्खा, मसला, चाउचाउलगायतका उद्योगहरू पर्याप्त भएको हुँदा ती उद्योगहरूले आफ्नो प्रयोगका लागि आयात खुला गर्न गरेको आग्रहलाई सहजीकरण गरेको बताउँछन् । विराटनगरमा रहेका अधिकांश गुट्खा उद्योग तथा उद्योगीहरू औद्योगिक प्रयोजनका लागि भन्दै आयात गर्ने र भारततर्फ सुपारी निकासी गर्दै आएको पाइन्छ ।

यसअघि पनि सुपारी निर्यातमा अर्बौँको चलखेल हुँदै आएको पाइन्छ । सुपारी व्यवसायीको ‘सेटिङ’मा सरकारले सुपारी आयात विभिन्न समयमा खुला गर्दै आएको देखिन्छ । त्यस्तै, २०७८ फागुन अन्तिम सातामा पनि तत्कालीन सरकारले व्यवसायीको दबाबमा यी सामग्री आयातमा लगाएको प्रतिबन्ध खुला गरेको थियो । सो समयमा मन्त्रालयले सुपारी आयात खुलाउन कार्यविधि नै तयार पारेको थियो  ।

कार्यविधिअनुसार आयात भएको सुपारी तथा केराउ भारत निर्यात गर्न नपाइने व्यवस्था समेत गरेको थियो, जसको प्रमुुख कारण भनेको यसमा हुने तस्करी नै थियो । मन्त्रालयको पछिल्लो निर्णयले तस्करलाई सहज नहोस् भन्नेमा ख्याल गर्नुपर्ने सरोकारावालाहरूको भनाइ छ ।

मन्त्रालयले सुपारी र मरिचसँगै चिनीको आयात पनि खुला गरेको छ, यसका लागि आवेदन समेत माग गरेको छ । भारतबाट आयात गरिने चिनीलाई कच्चापदार्थको रूपमा प्रयोग गर्ने उद्योगलाई मात्र आयात अनुमति दिन लागिएको हो । भारतबाट २५ हजार मेट्रिक टन चिनी निर्यात गरिएको हुँदा आवश्यक पर्ने उद्योगहरूले न्यूनतम दुई हजार छ सय मेट्रिक टन परिमाणसहित आवदेन दिन विभागले आग्रह गरेको छ । विभागले पुस पहिलो साता सूचना जरी गर्दै चिनी कच्चापदार्थको रूपमा प्रयोग गर्ने इच्छुक उद्योगहरूले उद्योगको सम्पूर्ण विवरणसहित आवेदन दिन आग्रह गरेको हो ।

विभागले सुपारी र केराउ आयातकर्ताले पनि प्रयोजन खुलाई, आयात परिमाण खुलाई, उद्योगको नाम ठेगानालागयातका विवरण खुलाई आवदेन दिन आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया