Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउनमा घरमै बसेर नगद उपहार जित्न सकिने ‘क्यास क्विज’ एप सञ्चालनमा

लकडाउनमा घरमै बसेर नगद उपहार जित्न सकिने ‘क्यास क्विज’ एप सञ्चालनमा


काठमाडौं, जेठ १४
लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्देश्यका साथ क्यास क्विज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इन्नोभेसन वेब ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको भएको बताइएको छ । लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरञ्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्नसक्ने गरी ‘क्विज खेलौं नगद जितौं’ योजनासहित मोबाइल एप सञ्चालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्धनिर्देशक दामोदर श्रेष्ठले जानकारी दिए ।

लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेकाहरुलगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठले बताए । क्यास क्विजमा सहभागी भएर जितेको नगद उपहारले मोबाइल टपअप गर्न सकिनेछ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिनेछ । केही समयपश्चात् नगद उपहारको सीमा ५० हजार रुपैंयासम्म पु-याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

विशेष गरेर लोकसेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गुगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । विद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता धेरै बढेको इन्नोभेसन वेब ग्रुपका प्रबन्धनिर्देशक दिपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्विजको युट्युब च्यानलमा राखिएका क्विजसम्बन्धी भिडियोमा अधिकांश प्रश्नोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरुलाई क्विजमा सहभागी हुन धेरै सहज हुने उनले बताए ।

हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागी हुनेहरुले मात्र नगद उपहार जित्न सक्नेछन् । अन्य समयमा प्राक्टिस मोडमा क्विज गेम खेल्न सकिनेछ । क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्विज गेम सुरु हुने समयमा एप खोलेर सहभागिता जनाउनुपर्ने हुन्छ । सहभागी भएको केही बेरमा खेल सुरु हुन्छ । खेल सुरु हुने समयसम्ममा खेलमा सहभागी नभएकाहरुले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ ।

अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्डभित्र दिनुपर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्नसक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म दुईपटक लाइफलाइन प्रयोग गर्न सकिन्छ । क्यास क्विजले सोधेका दशवटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुईभन्दा बढी सहभागीले दश वटै प्रश्नको सही जवाफ दिएमा तोकिएको नगद उपहार दामासाहीले सबैलाई बराबर वितरण गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x