Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगद क्लिफको ‘सेटअप’मा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क

द क्लिफको ‘सेटअप’मा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क


काठमाडौं । बाग्लुङको कुश्मालाई एड्भेन्चर हवको रूपमा स्थापित गरेको ‘द क्लिफ नेपाल’को सेटअपमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा संलग्न भएको छ ।

द क्लिफका अध्यक्ष राजु कार्की, बन्जी क्रु प्रशिक्षक प्रकाश प्रधानसहितको प्राविधिक टोली सो परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली बन्जी मास्टर समेत हुन् । केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्प तथा अन्य साहसिक गतिविधि स्काईवाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफमा उपलब्ध गराउने कार्कीको भनाइ छ । ‘सो एक्टिभिटिजहरूको सेटअप र अपरेसन हामीले हेर्नेगरी सहमति भएको छ,’ अध्यक्ष कार्कीले भने । बञ्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरू समेत भएकाले क्लिफसँग सहकार्य भएको बताइएको छ ।

भारतीय रुपैयाँ करिब ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ । ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ । पछि अर्को संरचना तयार गरी बन्जी सञ्चालनमा आउनेछ । दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ एक सय ६० मिटरको हुनेछ । सो निर्माणधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए । आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो । ‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया