Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने

सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने


काठमाडौं, जेठ २०
अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इ–कमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गरेको छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसईसी)ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई बिक्री गर्नेछ ।

सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो । सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ ।

सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यसपटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले सगुन डट कम/इन्भेस्टमा गएर वा सगुन एपमा रहेको मिनि आईपीओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x