Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकम सम्मानित

नेपाल टेलिकम सम्मानित


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकमलाई सम्मान गरेको छ । विभागले विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा टेलिकमलाई सम्मान गरेको हो ।

टेलिकमले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरू २०७३ सालदेखि अनवरतरूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याउँदै आएको छ । काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशील चन्द्र तिवारीले नेपाल टेलिकमलाई कदर पत्र प्रदान गरेका थिए । नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टमअन्तर्गतको सञ्चार र प्रसार प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यसअनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरू प्रयोग भएका छन् ।

सूचना संकलनअन्तर्गत बाढी पहिरोलगायतका विपद् जोखिम क्षेत्रमा रहेका मौसम स्टेसनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसमसम्बन्धी सूचना संकलनका लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि तीन सय एमबी डाटा सुविधासहितको सिमकार्ड उपलब्ध गराएको छ । त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । यसका लागि टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्करूपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको टेलिकमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया