Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहवाइ भाडामा भारी छुट

हवाइ भाडामा भारी छुट


काठमाडौं, जेठ २६
हवाइ इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाइजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई पत्राचार गरेपछि हवाइ भाडादर घटाइएको संघले विज्ञप्तिमार्फत जनाएको हो । हवाइ इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाइभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि ८ सय ६० रुपैयाँ घटाएर दुई हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको ७ सय ५० रुपैयाँ घटाई एक हजार ९ सय ५० रुपैयाँ बनाइएको छ ।

काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको दुई हजार १ सय ६० रुपैयाँबाट ६ सय रुपैयाँ घटाएर एक हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–पोखराको साबिक भाडामा ३ सय ९५ रुपैयाँ घटाई एक हजार ३० रुपैयाँ कायम गरिएको छ । काठमाडौँ–धनगढीको साविकको तीन हजार ९ सय ७५ बाट एक हजार १ सय ५ रुपैयाँ घटाई दुई हजार ८ सय ७० रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको ८ सय १५ रुपैयाँ घटाई दुई हजार १ सय १५ रुपैयाँ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा ५ सय ८५ रुपैयाँ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाइ इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाइ इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x