Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदाङमा निर्माण उपकरणहरुमा आगजनी निर्माण व्यवसायी महासंघको आपत्ति

दाङमा निर्माण उपकरणहरुमा आगजनी निर्माण व्यवसायी महासंघको आपत्ति


काठमाडौं, जेठ २८
दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँस्थित राप्ती नदीको किनारामा पार्किङ गरी राखिएका पाँचवटा एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । उक्त घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । गए राति (२०७७–०२–२६) मध्य रातमा भएको आगजनीका कारण चार वटा एक्स्काभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आशिंक क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

बा.२क. ४४८२, बा.१ क.२२७१, बा.२ क.३१४८, रा.१.ख.७१३ र एउटा अनटेस्ट एक्स्काभेटरमा आगजनी गरिँदा करोडौंको क्षति भएको विज्ञप्तिमा उल्लेख छ । ती एक्स्काभेटरहरु कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्सन जे.भी.ले गरिरहेको थियो । दुवै कम्पनी महासंघका सदस्य हुन् । कोभिड–१९ को त्रासबीच पनि राष्ट्रिय गौरवका आयोजनालाई गति दिने नेपाल सरकारको नीतिअनुसार अहोरात्र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

“निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक–पटक प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहहरुको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय हो’, महासंघको विज्ञप्तिमा लेखिएको छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माणकार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने व्यहोरा अवगत गराउँदै महासंघले तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x