Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगह्युन्डाई मोटरको एसेम्बली प्लान्ट नेपालमा

ह्युन्डाई मोटरको एसेम्बली प्लान्ट नेपालमा


काठमाडौं । ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपको लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले रामग्राम, परासीमा ह्युन्डाई मोटर एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ ।

परासीमा ह्युन्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन एक समारोहकाबीच शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । कम्पनीको अनुसार ६५ हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युन्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्गमिटरको भव्य निर्माण क्षेत्र रहेको छ । पाँच हजार इकाईको वार्षिक क्षमता भएको यस संरचनाले ह्युन्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डहरूको पालना गर्दै नेपालभर ह्युन्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ । एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाइ रहेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे । साथै, उनले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सु किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टले नेपालको मोटर गाडी उद्योगमा एक महत्वपूर्ण इतिहास रचेको बताए ।

सो कार्यक्रममा नेपालमा बनेको पहिलो ‘ह्युन्डाई भेन्यु’को प्रदर्शन पनि गरिएको थियो । योसँगै एलएमसीले ह्युन्डाई भेन्युको उत्पादन अघि बढाइसकेको कम्पनीले जनाएको छ । यस्तै, कम्प्याक्ट एसयुभी खण्डमा विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ । यस प्लान्टले निकट भविष्यमा ह्युन्डाई मोटर्सका अन्य मोडलका गाडीहरूको पनि एसेम्ब्लिङ गर्ने लक्ष्य राखेको छ । सो कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम तथा स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एलएमसीले सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरूको उत्पादनप्रति आफ्नो समर्पण देखाएको कम्पनीको भनाइ छ । वर्तमानमा ह्युन्डाई गाडीको १६ सोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ प्वाइन्ट्ससहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ । कम्पनीका अनुसार एलएमसीमा ग्राहक सन्तुष्टि सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले दोस्रो र तेस्रो तहका बजारहरूमा पनि आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया