Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउनका अवधिमा ६० प्रतिशत निर्माणका योजना सम्पन्न

लकडाउनका अवधिमा ६० प्रतिशत निर्माणका योजना सम्पन्न


लुम्बिनी, जेठ ३२
रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा लकडाउनका बीचमा पनि चालू आर्थिक वर्ष २०७६/०७७ का ६० प्रतिशत निर्माणका योजना पूरा भएका छन् । नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले हालसम्म सञ्चालित योजना ६० प्रतिशत निर्माणकार्य सम्पन्न भएका र बाँकी योजना सञ्चालनमा रहेको जानकारी दिए ।

नगरपालिकाले चालू वर्षका लागि निर्माण योजनामा पाँच किलोमिटर पक्की नाला, चार किलोमिटर ग्राभेल सडक, साढे तीन किलोमिटर आरसिसी, दुई किलोमिटर सडक कालोपत्र बनाउने कार्यक्रम थियो । यसैगरी विभिन्न १२ भवन निर्माण, कल्भर्ट, सिँचाइ बोरिङ २६ थान, पार्क एउटा, हाटबजार निर्माणको कार्य पनि अगाडि बढेको प्रमुख अधिकारीले बताए । नगरमा सहरी विकास आयोजनाअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र, ६२ किलोमिटर नाला निर्माण, १० किलोमिटर फुटपाथ र दुई हजार बिरुवा पनि वृक्षरोपण भइसकेको छ । नगरका १३ वडामा २३ करोड तीन लाख ६२ हजार ७३ रुपैयाँमा सडक निर्माण, कालोपत्र, नाला निर्माण, विभिन्न भवन निर्माणको काम भइरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए ।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि गरेको विभिन्न प्रयास र कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो । नगरका सूचना अधिकारी देव ज्ञवालीका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म एक करोड ३४ लाख १९ हजार ९ सय ६६ रुपैयाँ रकम जम्मा भएको छ । उक्त रकममध्ये नगरभित्रका मजदूरका लागि राहतका लागि चामल खरिदमा ५६ लाख एक हजार २ सय ८० रुपैयाँ, दाल खरिदका लागि १९ लाख ६५ हजार ९ सय ३६ रुपैयाँ, तेल खरिदका लागि दुई लाख ८० हजार रुपैयाँ, नून खरिदका लागि तीन लाख ४६ हजार ३ सय २ रुपैयाँ खर्च भएको बताइएको छ ।

यसैगरी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाका लागि खाना खर्चमा १७ लाख ७४ हजार ७ सय ९८ रुपैयाँ खर्च गरेको बताएको छ । क्वारेन्टिनमा बसेकाका लागि १५ दिन मारबाडी सेवा समाजले निःशुल्क खाना खुवाएको थियो । त्यसयता नगरले प्रतिछाक प्रतिव्यक्ति ७३ रुपैयाँ खर्चेर मायादेवि च्यारिटीटेबल फाउन्डेसनमार्फत क्वारेन्टिनमा बसेकाका लागि खानाको व्यवस्थापन गरिरहेको छ । विभिन्न क्वारेन्टिनमा एक हजार ३ सय जनालाई राखिसकिएको छ । भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्किनेले प्रयोग गर्ने मुख्य नाका बेलहियाका कारण लकडाउनको शुरुका महिना भैरहवाका विभिन्न क्षेत्रमा नेपालीलाई राखेर कोरोना परीक्षणपश्चात् मात्रै घर पठाउने गरिएको थियो । तर पछिल्लो केही हप्तायता सिधै बेलहिया सीमाबाट आफ्नो जिल्ला पठाउने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x