Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे ।

‘तपाईंहरु लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ,’ मन्त्री भण्डारीले भने । नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनियाँ पुँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताए ।

‘लगानी गर्ने मनसायले नेपाल आउनुभएको छ, सरकारका तर्फबाट धन्यवादसहित म हार्दिक स्वागत गर्छु, प्रस्ताव ल्याउनुस् छलफल गर्छौँ, अनुकुल वातावरण मिलाउँछौं, ढुक्कले लगानी गर्नुस्, प्रतिफल तपाईंहरुले राम्रै पाउनुहुन्छ,’ उनले भने । नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीच सदियौँदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दैै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसँग खुसी व्यक्त गरे । ‘सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ, लगानीको सम्भावना सुनिश्चित छ,’ उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया