Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमध्यकालीगण्डकी आयोजनाका लागि नौ अर्ब लगानी जुट्यो

मध्यकालीगण्डकी आयोजनाका लागि नौ अर्ब लगानी जुट्यो


म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ ।

आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माणको लागि नबिल बैंकको अगुवाइमा छ वटा वाणिज्य बैंकले नौ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार सय मिटर सुरुङ रहने यस आयोजनाको विद्युत् गृहदेखि फोरवेको उचाइ एक सय १५ मिटर हुनेछ । केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्यकालीगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिए ।

सन् २०२४ मा भौतिक निर्माण सुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समूहका अध्यक्ष समेत रहेका ढकाल र बैंकहरूको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x