Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान जानु दुःखद्’

‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान जानु दुःखद्’


काठमाडौं । काम गरेबापत रकम भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीहरूले आत्महत्या गर्ने अवस्था आउनु अत्यन्तै दुःखद् भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार डडेल्धुराका एक निर्माण व्यवसायीले सरकारले रकम भुक्तानी नदिएकै कारण सिर्जित आर्थिक समस्याले आत्महत्या गरेको हुन सक्ने पाइएको छ ।

जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्यसमिति सदस्य समेत रहेका अमरगढी नगरपालिका—५ निवासी डम्बरदेव भट्ट (सन्तोष) घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला परेका थिए । स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा उनको असार १५ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गतका ठेक्काहरूको भुक्तानी सम्बन्धित कार्यालयबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थहरूलाई बताएका थिए ।

‘व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिकरूपमा विक्षप्त भई ‘आत्मदाह’ गर्न सक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिनाअघिदेखि नै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सुनुवाई नभएको विदितै छ ।’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । यस अर्थमा भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको भनाइ छ ।

सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनपश्चात राज्यबाट व्यवसायीहरूको करिब ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी नभएबाट हजारौँ निर्माण व्यवसायीहरू आर्थिकरूपमा ठूलो समस्यामा परेको महासंघले जनाएको छ । अब आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत सरकारले व्यवसायीहरूको उक्त अरबौं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीहरूबाट समेत यस्तै दुःखद् घटना हुन सक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्ता दुःखदायी घटना रोक्नका लागि आवश्यक पहल गर्न समेत महासंघका महासचिव दाहालले सरकारसँग माग गरेका छन् । महासंघले व्यवसायी भट्टप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरी घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न समेत सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x