Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमनमा व्यापार, लगानी तथा रोजगार प्रवर्द्धन कार्यक्रम

ओमनमा व्यापार, लगानी तथा रोजगार प्रवर्द्धन कार्यक्रम


काठमाडौं । नेपाली राजदूतावास, ओमनले मस्कटमा व्यापार, लगानी तथा रोजगारी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । दूतावासले नेपाल र ओमानबीचको व्यापार एवं लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार सो कार्यक्रम गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साथै, कार्यक्रममा नेपाली कामदार ल्याउन इच्छुक ओमानस्थित संस्थाहरूका लागि सुरुवात गरिएको संस्थागत मागपत्र प्रमाणीकरणको इ–पोर्टलबारे जानकारी पनि दिइएको थियो । कार्यक्रममा व्यावसायिक संस्थाहरू सुपरमार्केट, निर्माण कम्पनी, सेवा प्रदायक संस्था, अस्पताल आदिका कन्ट्री म्यानेजर, मानव संशाधन प्रबन्धकलगायत उद्योग व्यवसायीहरू सहभागिता थिए । कार्यक्रममा राजदूत डोरनाथ अर्यालले नेपाल सरकारले नेपाली व्यापारको विविधीकरण र नेपालमा वैदेशिक लगानीका प्रशस्त अवसरहरूको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपालमा आफ्नो कारोबारलाई विस्तार गर्न ओमानस्थित व्यवसायीहरूलाई आग्रह गरेका थिए ।

यस्तै, कार्यक्रममा राजदूत अर्यालले ओमानमा संस्थागत माग प्रमाणीकरणका लागि इ–पोर्टलको शुभारम्भ गरेका थिए । साथै, यसबाट सम्पूर्ण प्रक्रिया पारदर्शी र सहज हुने आफू विश्वस्त भएको उनले बताए ।

उनले नेपाली कामदार भर्नासम्बन्धी अन्य प्रक्रियालाई पनि क्रमशः अनलाइन प्रक्रियामा लैजाने र त्यस्ता पहलले प्रमाणीकरणको कार्यमा सहजता, शीघ्रता र पारदर्शिता ल्याउने विश्वास व्यक्त गरेका थिए । कन्सुलर सेवा विभागका सूचना–प्रविधि अधिकृत नवीन झाले इ–पोर्टलबाट गर्नुपर्ने कम्पनी दर्ता र मागपत्र प्रमाणीकरणबारे भर्चुअल प्रस्तुतीकरणबाट व्याख्या गरेका थिए ।

उनले रोजगारदाता कम्पनीले इ–पोर्टलमा सर्वप्रथम आफ्नो कम्पनी दर्ता गर्नुपर्ने र राजदूतावासले दर्ता स्वीकृति प्रदान गरेपछि मात्रै नेपाली कामदार भर्नाका लागि मागपत्र प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिएका थिए ।

ओमानका रोजगारदाताहरूको इ–पोर्टलमा कम्पनी दर्ता यही असार १९ देखि सुरु भएको छ । यस्तै, आगामी साउन १ गतेबाट सबै संस्थागत मागपत्रहरू इ–पोर्टलमार्फत मात्र प्रमाणीकरण गरिने जनाइएको छ । कार्यक्रमका सहभागीहरूलाई अनलाइन मागपत्र प्रमाणीकरणसम्बन्धी विश्लेषणात्मक म्यानुअल र नेपालको व्यापार तथा लगानी अवसरसम्बन्धी कागजात उपलब्ध गराइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x