Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय गाडी हुन्डाईको कोना शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने

विद्युतीय गाडी हुन्डाईको कोना शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने


काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘शून्य उत्सर्जन, शून्य ब्याज’ नामक योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई कोना दुई वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९ दशमलव दुई किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा तीन दशमलव पाँच किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई एक सय किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प पनि सञ्चालन गरेको जनाएको छ । सो क्याम्पमा पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षण गर्दा पाँच वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९८ प्रतिशत भन्दा बढी पाइएको थियो ।

कम्पनीका अनुसार विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । ‘हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि– सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ’ कम्पनीले भनेको छ । हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझै मजबुत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्ने जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ सोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै, ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x