Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक


पर्वत । डेढ दशकअघि निर्माण गरिएको जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको बताए । २०६६ सालमा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन ।

एकैपटक दर्जनौँ मोटरसाइकल मानिस पैदलयात्रा गर्ने पुलमा गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उनले जानकारी दिए ।

एक सय ३५ मिटर उचाइको र तीन सय ४४ मिटर लामो उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।

सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयौंको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो ।

प्रजिअ शर्माले केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको बताए । “जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने/नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ”, उनले भने ।

आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आउने प्रजिअ शर्माले बताए । डिभिजनले पत्र पठाएर कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उनको भनाइ छ ।

यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो । पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x