Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेनियर पत्ताको निर्यात बढ्यो

भेनियर पत्ताको निर्यात बढ्यो


काठमाडौं  । मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालू आवको ११ महिनामा ५० करोड २४ लाख चार हजार रुपैयाँ बराबरको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ५७ प्रतिशत बढी भेनियर पत्ता निर्यात भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत आव २०७९/८० को जेठ मसान्तसम्ममा तीन करोड ७० लाख १४ हजार रुपैयाँको भेनियर पत्ता निर्यात भएको थियो । नेपाल भेनियर उत्पादक सङ्घका महासचिव दिनेश शाक्यका अनुसार भारतमा माग उच्च भएपछि नेपालबाट प्लाइउड बनाउन आवश्यक पर्ने मुख्य कच्चापदार्थ भेनियर पत्ताको निर्यात बढेको हो । ‘केही वर्ष पहिले भेनियर पत्ताको व्यापार नेपालमा मात्रै हुने गर्थ्यो, यहाँ आर्थिक मन्दी सुरु भएसँगै भेनियर पत्ताको व्यापार भारततर्फ बढ्दा किसानलाई लाभ मिलेको छ’, महासचिव शाक्यले भने ।

पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तीस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रूपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको भेनियर उत्पादक सङ्घका महासचिव शाक्यले बताए । उनले भने, ‘भेनियर पत्ता निर्यातबाट दैनिक लाखौं राजस्व बुझाउने उद्योगलाई सरकारले निर्यातमा सहुलियत दिन सक्यो भने निर्यात बढ्न गई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’ नेपाल भेनियर उत्पादक सङ्घका अनुसार हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष/परोक्षरूपमा रोजगारी उपलब्ध गराएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x