Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसुङको ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ नेपालमा

सामसुङको ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ नेपालमा


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ नेपालमा अनावरण गरेको छ । कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिकरूपमा सो फोनको अनावरण गर्दै प्रि–अर्डर समेत सुरु भएको घोषणा गरेको हो ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको अनावरण गरेका थिए । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताए । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर कम्पनीका नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गर्ने उनले जानकारी दिए ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि रहेको जनाइएको छ । डुअल रेल हिङ संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस दुई पनि छ, यसले अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको कम्पनीको दाबी छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् । साथै, अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्य सम्पादनको संयोजन गर्ने कम्पनीको भनाइ छ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ । ग्यालेक्सी जेड फोल्ड ६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीयरूपमा वृद्धि गर्न एआई सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने जनाइएको छ । यसैगरी सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्णरूपमा एकीकृत भएको छ । यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित सहायक उपलब्ध गराउँछ ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डरमा आर्कषक अफरहरू समेत रहेका छन् । कम्पनीका अनुसार सो अफर साउन १५ गतेसम्म मान्य रहने छन् । अफरअन्तर्गत मोबाइल कभरका साथै पहिलो पाँच सय प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् । यसमा १७ जीबी डाटा, चार सय ९९ मिनेट कल र चार सय ९९ एसएमएस प्रत्येक महिना छ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन् । सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षका लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ । यस्तै, आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबैको फोन र अर्को स्टोरमार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ ।

ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६ जीबी) को मूल्य नेपालमा एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यस्तै, ग्यालेक्सी जेड फोल्ड ६ (१२+२५६ जीबी) को मूल्य दुई लाख ३४ हजार नौ सय ९९ रुपैयाँ र (१२+५१२ जीबी) भेरियन्टमा दुई लाख ४० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोनहरू सिल्भर श्याडो, ब्लु र न्यभी कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, यी फोनहरू हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याज दरमा पनि किन्न सकिन्छ । ग्यालेक्सी जेड फोल्ड छ हजार आठ सय ५४ रुपैयाँ प्रतिमहिना र ग्यालेक्सी जेड फ्लिप ६को चार हजार पाँच सय २१ रुपैयाँ प्रतिमहिनाको दरमा किन्न सकिने कम्पनीले जनाएको छ । यी नयाँ फोल्देबलहरूका लागि सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनका लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x