Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअपि पावरले पानी बिक्री र अपार्टमेन्ट निर्माणमा लगानी गर्ने

अपि पावरले पानी बिक्री र अपार्टमेन्ट निर्माणमा लगानी गर्ने


काठमाडौं । दार्चुलाको नौगड गाढ नदीमा साढे आठ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना निर्माण गरी यात्रा सुरु गरेको अपि पावर कम्पनी लिमिटेडले अब खानेपानी र अपार्टमेन्टमा लगानी गर्ने भएको छ ।

सेयरधनीलाई बढी प्रतिफल दिन र लगानी विविधीकरण गर्नको लागि कम्पनीले पानी उत्पादन गर्ने र अपार्टमेन्ट निर्माण गर्ने तयारी थालेको हो । अपि पावरले एक अर्ब ३५ करोड लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने भएको छ । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ बाट पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । सो पानी सुदूरपश्चिममा नै खपत हुने जनाइएको छ । हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीको तयारी छ ।

साथै, कम्पनीले ललितपुरको झम्सिखेलमा एक सय २० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नका लागि तीन रोपनी जग्गा पनि खरिद गरिसकेको जनाएको छ । अपार्टमेन्ट १० तले हुनेछ भने त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुनेछन् । दुई वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्नका लागि कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाइ छ । निर्माण सम्पन्नपश्चात् अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।

कम्पनीले साढे आठ मेगावाट जलविद्युत् उत्पादनबाट आफ्नो यात्रा सुरु गरेको थियो । हाल कम्पनीले ६२ दशमलव पाँच मेगावाटका आयोजना निर्माण गरिसकेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सकेको कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही नदीमा आठ मेगावाटको अपर नौगड गाढ जलविद्युत् आयोजना बनाएको थियो । यस्तै, कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । यी तीन वटा जलविद्युत् आयोजनामध्ये साढे आठ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भइसकेको छ । नौगड गाढ र अपर नौगड गाढ जलविद्युत् आयोजनाले वार्षिक २३÷२३ करोड रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस्तै, ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक एक अर्ब ३५ करोड आम्दानी गर्ने गरेको छ । कम्पनीले जलविद्युत् आयोजनाबाट मात्रै वार्षिक एक अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने जनाएको छ ।

कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत् उत्पादन गर्ने गरेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको जनाएको छ । कम्पनीले चार मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, एक मेगावाटको ढल्केवर सोलार आयोजना, एक मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी तीन वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका तीन वटै सोलार आयोजना ऋणमुक्त छन् । यी आयोजनाबाट कम्पनीले क्रमशः चार करोड ५० लाख, एक करोड १५ लाख र एक करोड १५ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने जनाएको छ ।

यीबाहेक अपि पावर कम्पनीले विभिन्न सात वटा अन्य कम्पनीमा सेयर लगानी गरेको छ । कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत सेयर लगानी गरेको छ । यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको सेयर लगानी गरेको कम्पनीले जनाएको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अपि पावरले सात करोड पाँच लाख रुपैयाँ सेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रूपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यस कम्पनीले जलविद्युत् आयोजनाहरूको लागि आवश्यक हाइड्रो मेकानिकल उपकरणहरू निर्माण गर्ने गरेको छ ।

यस्तै, अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा दुई अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेडमा अपि पावरले १० लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, अपि पावरको भगिनी संस्थाको रूपमा मकालु डेभलपर्स लिमिटेड र लटिनाथ कन्स्ट्रक्सन रहेको छ । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिल तर्फको सामग्री उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा बिजुलीको व्यापार गर्नेगरी योजना बनाइरहेको जनाएको छ । कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रियरूपमा गरी दुईवटै तरिकाबाट विद्युत् व्यापार गर्नको लागि सरकारसँग लबिङ गरिरहेको छ । कम्पनीले सुदूरपश्चिममा बनाएको चमेलियाको आयोजनास्थलबाट ४० किलोमिटर भारततर्फ लागेपछि भारतीय ग्रिड भेटिन्छ । साथै, पूर्वमा पनि ५० किलोमिटर दूरीमा नै भारतीय ग्रिड रहेको र त्यहाँसम्म पुग्ने प्रसारण लाइन आफैँले निर्माण गरेर भारतमा विद्युत् व्यापार गर्नेगरी तयारी थालेको छ । साथै, कम्पनीले १०० मेगावाटभन्दा ठूला आयोजना बनाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x