Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन हुने

पोखरामा संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन हुने


काठमाडौं । पर्यटकीय राजधानी पोखरामा संघीय पर्यटनमन्त्रीसहित सात वटै प्रदेशका पर्यटनमन्त्रीको सहभागितामा सम्मेलन हुने भएको छ । पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्तो सम्मेलन आयोजना गर्न लागिएको हो ।

यसका लागि छिट्टै मिति घोषणा गरेर तयारी अघि बढाइने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्ट्स (नाट्टा) गण्डकीको २९औँ साधारणसभा तथा १३औँ अधिवेशन उद्घाटन कार्यक्रममा सो जानकारी गराएका हुन् । पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । पर्यटन राजधानी घोषणाले पोखराको पर्यटन ‘ब्रान्डिङ’ भएको तर्क गर्दै मुख्यमन्त्री पाण्डेले यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकारले प्रदेशमा खेल पर्यटनको विकाससँगै धार्मिक पर्यटन विकासमा समेत जोड दिइएको स्पष्ट पार्दै उनले मनाङ र मुस्ताङमा ‘हाई अल्टिच्युड’ खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु आवश्यक रहेको बताए । नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए । पर्यटकको बसाइँ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए । नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धन स्वदेश तथा विदेशमा गर्न नाट्टा सक्रिय रहेको स्पष्ट पारे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट नै सम्भव भएको स्पष्ट पारे ।

अध्यक्षमा दाहाल निर्वाचित
नाट्टा गण्डकी प्रदेश अध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् । यस्तै, प्रथम उपाध्यक्षमा संगीता पौडेल, द्वितीय उपाध्यक्षमा राजेश पहारी, महासचिवमा चेतबहादुर कार्की, सचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा सुवास पहारी र सहकोषाध्यक्षमा सन्दीप श्रेष्ठ निर्वाचित भए । कार्यसमिति सदस्यमा प्रतीक लामिछाने, छविरमण पौडेल, पदमराज आचार्य, विजय पौडेल र तुलबहादुर गुरुङ छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x