Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडा अटो सोको ८२ हजारले गरे अवलोकन

नाडा अटो सोको ८२ हजारले गरे अवलोकन


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६ संस्करणको नाडा अटो सो २०२४ मा ८२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो सो भदौ ११ देखि १६ गतेसम्म राजधानीस्थित भृकुटी मण्डपमा भएको थियो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेको उक्त सो मा ८२ हजार चार सय ७० जना दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । यस प्रदर्शनीमा उत्कृष्टरूपमा शृङ्गार गरिएका स्टल र अन्तर्राष्ट्रियरूपमा नाम चलेका लेटेस्ट मोडलका सवारी साधनका कारण यो प्रदर्शनी गत वर्षमा भन्दा भव्य भएको आयोजकको दाबी छ । थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरूको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो सो विगतमा भन्दा निकै भव्य र बृहत् भएको अवलोकनकर्ताहरूले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बाबजुद पनि आयोजना गरिएको यो अटो सोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहयोग गरेको पनि बताइएको छ ।

यस पटकको अटो सोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेका थिए । त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सीजी मोेटर्स प्रालि रिडराले र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल बैद्य इनर्जी प्रालि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदिप इन्टरनेसनल प्रालि भिडोलले जितेको छ । नाडाले उत्कृष्ट स्टलहरूको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो सोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालिका प्रतिनिधिसमेत सदस्य रहनेगरी चार सदस्यीय बेस्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

नाडा अटो सो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । विजेताले आफ्नो टिकटसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । सोको समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा ध्रुव थापा, पूर्वअध्यक्षलगायतले सोमा सहभागी एक सय ३५ कम्पनीलाई मोमेन्टो समेत वितरण गरेका थिए । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो ।

नाडा अटो सो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो सो २०२४ लाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । नाडा अटो सो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरीकै अध्यक्षतामा पाँच सदस्यीय नाडा अटो सो २०२४ व्यवस्थापन समिति गठन गरिएकोे थियो । छ दिनसम्म चलेको सो प्रदर्शनीमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समेत अवलोकन गरेका थिए । छ दिनसम्म चलेको सो नाडा अटो २०२४ को अवसरमा टक सो कार्यक्रमहरू समेतको आयोजना गरिएको थियो ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x