Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुकेटार विमानस्थलमा तीन महिना पछि पुन: उडान सुरु

सुकेटार विमानस्थलमा तीन महिना पछि पुन: उडान सुरु


फुङ्लिङ (ताप्लेजुङ) । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले बुधबार पुनः उडान सुरु गरेको छ । मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए ।

बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । हाललाई निगमले हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।

तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौँ–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ ।

सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । ताप्लेजुङ–काठमाडौँ उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु. नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x