Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको खरिदबिक्री पुनरावलोकन गर्न माग

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको खरिदबिक्री पुनरावलोकन गर्न माग


काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) पुनरावलोकन गर्न सरोकारवालाले माग गरेका छन् ।

नेपाली काँग्रेस दोलखाको युवा तरुण तथा खेलकुद विभागले दोलखामा निर्माण सम्पन्न तथा निर्माणधीन जलविद्युत् आयोजनाको विषयमा राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले नेपाल विद्युत् प्राधिकरण र तामाकोशी हाइड्रोपावर लिमिटेडबीच भएको विद्युत् खरिद बिक्री दर एकदमै न्यून रहेको बताए । तामाकोशीसँगको खरिदबिक्री सम्झौता पुनरावलोकन नभए सो आयोजना नै डुब्ने उनीहरूको भनाइ छ । सोही प्रकृतिका अन्य आयोजनासँग विद्युत् प्राधिकरणले वर्षामा प्रतियुनिट चार दशमलव ८० रुपैयाँ र हिउँदामा आठ दशमलव ४० रुपैयाँसम्ममा विद्युत् खरिद गरे पनि तामाकोशीसँग भने वर्षामा तीन रुपैयाँ र हिउँदमा चार रुपैयाँमा खरिद सम्झौता गरेको छ । कार्यक्रममा पूर्व ऊर्जासचिव देवेन्द्र कार्कीले विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशीलाई विभेद गरेको बताए । असमान खरिदबिक्री सम्झौता परिमार्जन नभए माथिल्लो तामाकोशीले निर्माण लागतको ऋण तिर्न नै नसकेर धराशायी बन्ने अवस्थामा पुग्ने बताए । यस्तै, उनले प्राधिकरणले निजी क्षेत्रको महँगो विद्युत् किन्नका लागि तामाकोशीबाट पूर्णरूपमा विद्युत् उत्पादन गर्न समेत नदिने गरेको बताए ।

कार्यक्रममा उनले सरकारले विद्युत् उत्पादनसँगै खपतमा पनि जोड दिनुपर्ने बताए । हाल भारतसँग १० हजार मेगावाट विद्युत् खरिदबिक्रीको लागि सम्झौता भएको भनेर सरकार ढुक्क भएर बस्ने अवस्था नरहेका उनले बताए । सो सम्झौता वर्षेनि नवीकरण गर्नुपर्ने भएकाले भारतले सम्झौता नवीकरण नगरिदिएमा विद्युत् खेर जाने उनको भनाइ छ । कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) पुनरावलोकन गर्न पहल गर्ने बताए । यस्तै, उनले तामाकोशी– ३, खिम्ती–२, रोल्वालिङलगायतका जलविद्युत् आयोजना निर्माण गर्दा तामाकोशीको नियति नहो¥याउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा ऊर्जा विज्ञ अरुणकुमार सुवेदीले सरकार र जनता दुवैले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । यस्तै, उनले सरकारले जलविद्युत् आयोजनाको उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् बिक्री वितरणको समेत जिम्मा दिनुपर्ने बताए ।

कार्यक्रममा काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले नेपालको जलविद्युत्को सबै स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई सुम्पिएर मनलाग्दी ढंगले चलाउन दिन नहुनेमा जोड दिए । यस्तै, उनले ऐन परिवर्तन गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाई वितरण गरिने सेयर बढाउनुपर्ने बताए । यस्तै, स्थानीयको सेयरमा हुने लकइन पिरियड पनि घटाउनुपर्नेमा जोड दिए । यस्तै, काँग्रेस दोलखाका नेता ताराबहादुर कोइरालाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत बढेर तेब्बर हँुदा समेत राज्य अनुदार भएको बताए । आयोजना घाटामा जाँदा दोलखाली जनता बढी समस्यामा परेको उनले बताए । कार्यक्रममा विभागका संयोजक पदम पाठकले दोलखामा निर्माण हुँदै गएका र निर्माण सम्पन्न भएको जलविद्युत् आयोजनाको समग्र विषयवस्तु समेटिएको ध्यानाकर्षण पत्र ऊर्जा राज्यमन्त्री तामालाई बुझाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x