Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोशी प्रदेशमा चार दिने कृषि एक्स्पो सुरु

कोशी प्रदेशमा चार दिने कृषि एक्स्पो सुरु


काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा चार दिने कृषि एक्स्पो सुरु भएको छ । सो एक्स्पोको बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रूपमा विकास गर्ने बताए ।

कार्यक्रममा उनले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको जानकारी दिए । मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पुँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिइने उनले बताए । प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षीय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उनले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुन बताए । उनले निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने बताए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधीकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिए । सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१÷९१ कृषि लगानी दशक घोषणा गरेको उनले जानकारी दिए । उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भई कृषिमा व्यावसायीकरण हुने उनको विश्वास थियो । मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्तरूपमा सञ्चालन गरी कृषि प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राखेका थिए । चार दिनेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् । स्टलमा कोशी प्रदेश, भारतको बिहार र बङ्गालका नवीनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषिपन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।

कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । कोशी प्रदेशमा अलैंची, चिया, अदुवा, अम्लिसो, तरकारीहरू, दूध, मासु, छुर्पी र जडिबुटीहरूको मुख्य उत्पादन हुने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x