Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहप्तामा दुई दिनमात्र उडान हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

हप्तामा दुई दिनमात्र उडान हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा


टक्सार (भोजपुर) । सदरमुकामबाट विमानस्थल पुग्ने भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । २०३५ सालमा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । तर हाल यो विमानस्थलमा उडान भने हप्तामा दुई दिनमात्र हुने गरेको छ ।

कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।

नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ ।

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । निगमले विमान अभाव देखाउँदै उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भने ।

पूर्वमन्त्री सुदन किरातीको पहलमा टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।

स्थानीय घमचन्द्र दाहालले विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको बताए । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो ।

जिल्लाका राजनीतिक दल र नेताले भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भनिन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x