Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसकियो पूर्वाधार सम्मेलन, संकलित सुझाव सरकारलाई बुझाइने

सकियो पूर्वाधार सम्मेलन, संकलित सुझाव सरकारलाई बुझाइने


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सकिएको छ ।

पाँचौँ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन शुक्रबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । समापन समारोहमा उनले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए । सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरूमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दै उनले पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने बताए । सम्मेलनमा आएका सुझावलाई नेपाल सरकारले ग्रहण गरी सोहीअनुरूप सुधार गर्ने उनको विश्वास थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तीय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरूमा गहनरूपमा छलफल भएको बताए । नेपालको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझावहरू सरकारलाई उपलब्ध गराउने उनले जानकारी दिए । सम्मेलनमा पूर्वाधार विकासका मोडलहरू, नेपालमा लागू गर्न सकिने व्यावहारिक पक्षको पहिचान तथा पूर्वाधार परियोजनाहरू आर्थिकरूपमा मात्र नभई सामाजिक र वातावरणीयरूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमबारे स्पष्टरूपमा सुझावहरू आएको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एम्रेटस् विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरूमा विदेशी एवं स्वदेशी विज्ञहरूबाट महत्वपूर्ण सुझाव आएको बताए । सचिव शर्माले यस सम्मेलनमा आएका सुझावहरूलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको थिए ।

त्यसअघि भएको ‘ऊर्जा र जलस्रोत’ विषयक छलफलमा सहभागीहरू दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको विकल्प नभएको बताएका थिए । ऊर्जा उद्यमी तथा नेसनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेले स्वच्छ ऊर्जामा नेपालमा सकारात्मक परिवर्तन भएको बताए । उनका अनुसार १०÷१२ वर्षमा ठूलो मात्रामा निजी क्षेत्रले लगानी गरेका कारण ऊर्जा क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । रुख कटान, जग्गा अधिग्रहणजस्ता कानुनी समस्याहरू नभए अझ धेरै उत्पादन गर्न सकिने बताए । उनले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारले लक्ष्य राखेकोमा लगानी जुटाउने चुनौती रहेको बताए ।

पूर्व सहसचिव केशवध्वज अधिकारीले विश्व बजारमा नेपाल विद्युत खपतमा एक सय १५औँ स्थानमा रहेको जानकारी दिए । नेपालको कुल जडित क्षमता तीन हजार ६२ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणबाट पाँच सय ७३ दशमलव छ मेगावाट र थर्मल ५८ मेगावाट गरेर कुल उत्पादन छ सय २६ मेगावाट उत्पादन भइरहेको उनले बताए । यस्तै, निजी क्षेत्रले दुई हजार चार सय ३६ मेगावाट उत्पादन गरिरहेको छ ।

हुवावे टेक्नोलोजीका डिजिटल स्मार्ट पीभीका अध्यक्ष चेन योङले संसारका सबै देशले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेकाले अब ग्रिन ट्रान्सफरमेसनको विकल्प नभएको बताए । एसियाली विकास बैंककी इनर्जी सेक्टर अफिस निर्देशक सुजाता गुप्ताले नेपालमा प्रसारणलाइनका लागि ठूलो लगानी चाहिएको बताइन् । उनका अनुसार अहिले नेपालको निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित छ । नेपालको प्रसारणलाइन निर्माणमा एडीबीको ४० प्रतिशत सहभागिता छ । अहिलेसम्म नेपालमा ९८ प्रतिशत विद्युतीकरण भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट उत्पादन लक्ष्य पूरा गर्न सकिने बताए । ‘नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट लैजाने सम्झौता गरेको छ । बंगलादेशसँग समेत हामी सम्झौता गर्दैछौँ,’ उनले भने, ‘त्यसका लागि ४६ खर्ब रुपैयाँ लगानी चाहिन्छ । हामी १० हजार मेगावाट उत्पादनका लागि तयार छौँ । नीतिगतरूपमा सहजीकरण चाहिन्छ ।’

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सरकारले प्रतिस्पर्धी वातावरण बनाउन लागेको बताए । उनका अनुसार प्रसारण लाइनलाई बिजनेसका रूपमा विकास गर्न लागिएको छ । नियमन आयोगले कस्ट रिकभरी मोडलका विषयमा गृहकार्य गरिरहेको उनले बताए । ‘उत्पादन बढिरहेको छ तर प्रसारणलाइन पर्याप्त छैन । निजी लगानीकर्तासँग छलफल गरेर प्रसारणलाइनको मोडल बनाउनका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले जलाशय र हाइड्रो पम्प स्टोरेजको मोडल बनाइरहेका छौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x