पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
काठमाडौं । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिस्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव पोखराको लौरुकदेखि चंखपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुने नेपाल बलुन प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने छ । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने उनको विश्वास छ । आयोजकले हालै राजधानीमा एक कार्यक्रम गरी फेस्टिभल गर्ने घोषणा गरेको हो । सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेन्डरमा नयाँ कार्यक्रम थप भएको बताए । महानगर सो कार्यक्रमको संरक्षक र प्रवद्र्धक रहने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका निर्देशक विवि ढकालले प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको बताए । महोत्सवमार्फत कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने लक्ष्य लिइएको उनको भनाइ छ । आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ ।
महोत्सवमा करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकैपटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने विभिन्न स्वादिस्ट खानाका परिकार पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया