Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार

काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार


काठमाडौं । काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । ललितपुरको हिमालयन होटलमा शनिबार र आइतबार सो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको एक विशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा विश्वविद्यालयका प्राध्यापकहरूलाई नीति निर्माण तहमा संलग्न गराउन नसक्दा राज्यले माटो सुहाउँदो नीति निर्माण गर्न नसकेको बताए । यस्तै, उनले आगामी दिनमा विज्ञ र कार्यकारी निकायबीचको दूरी कम गराउने प्रतिबद्धता जनाए । यसअघि नै शनिबार विश्वविद्यालयका विद्यार्थीहरूमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘युथ सेसन’को आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), एसिया–प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय सूचना र नेटवर्किङ केन्द्र (इचक्याप), त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संयुक्तरूपमा सो सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको सुरक्षाका लागि एसिया–प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जालभित्र जोडिएका १२ देशका २० विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदा र पूर्खाहरूबीचको वास्तविक सम्बन्ध र जलवायु परिवर्तनले पारेको असरसँग कसरी जुधिरहेका छन् भन्ने बारेमा सेमिनारका संयोजक एवं त्रिवि संस्कृति केन्द्रीय विभागको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक डा. अभिजित थापाले आफ्नो धारणा राखेका थिए । यस्ता कार्यक्रमहरूले त्रिविलाई अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गर्न सहयोग मिल्ने उनले बताए । यस्तै, सेमिनारमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख डा महेश कुमार आचार्यले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभाग संस्कृति र पुरातत्वको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएर काम गर्न तयार रहेको बताए । उनले यस्ता निकायसँगको समन्वयले विज्ञता र कार्यान्वयन पक्षलाई समेतसँगै लैजान सहयोग मिल्ने उल्लेख गरे ।

कार्यक्रममा इच्क्यापको अफिस अफ को–अप्रेसन एन्ड नेटवर्किङकी निर्देशक बोयोङ चाले एसिया प्यासिफिक क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा इचक्यापले खेलको भूमिकाबारे प्रकाश पारेकी थिइन् । त्यस्तै, कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि मिचेल क्राफ्टले नेपालको अमूर्त सम्पदामा युनेस्कोले खेलेको भूमिकाबारे जानकारी दिए । कार्यक्रममा एपेन इचका सचिव नीलकमल चापागाईंले एपेन इचले अमूर्त सम्पदाको संरक्षणमा खेलेको भूमिकाको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा खड्ग केसी, विश्वविद्यालयका पूर्व रजिस्ट्रर प्रा पेशल दाहाल, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रर प्रा अच्युत वाग्लेलगायतले धारणा राखेका थिए । सेमिनार आइतबार सम्पन्न भए पनि एपेन इचको साधारणसभा भने सोमबार सम्पन्न हुने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x