Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुदूरपश्चिम सरकारको बजेट प्रति निजी क्षेत्र असन्तुष्ट

सुदूरपश्चिम सरकारको बजेट प्रति निजी क्षेत्र असन्तुष्ट


धनगढी, असार १९
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । साना तथा मझौला उद्योगहरुका लागि चित्त बुझ्दो बजेट ल्याए पनि ठूला उद्योगहरुका लागि भने त्यो पर्याप्त नहुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

बजेटमा निजी क्षेत्रलाई सन्तोषजनक रुपमा समेट्न नसकेको भन्दै निजी क्षेत्रका व्यवसायी तथा व्यापारीहरुले गुनासो गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३८ करोड ४८ लाखको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकाले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर प्रदेश सरकारका निम्ति बजेट कार्यान्वयनको पक्ष जटिल समस्याका रुपमा स्थापित भएको छ । प्रदेश सरकारले जति नै बजेट ल्याए पनि बजेट कार्यान्वयनको पक्ष अति महत्वपूर्ण हुने उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बताए ।

विगत तीन महिनादेखि जारी लकडाउनका कारण व्यापार व्यवसाय बन्द हुँदा व्यवसायीहरुले करोडौँको नोक्सान व्यहोर्नुपरेको उनको भनाइ छ । ठूलो नोक्सान व्यहोर्न बाध्य भएका व्यवसायीहरुका लागि प्रदेश सरकारले राहत हुने खालका कार्यक्रम नल्याएको उनले बताए । ‘निजी क्षेत्रलाई न संघीय सरकारले समेट्न सक्यो, न त प्रदेश सरकारले’, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीले गुनासो गरे । साथै उनले प्रदेश सरकारको बजेट परम्परागतशैलीको भएको पनि आरोप लगाए ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका निम्ति भन्दै सुदूरपश्चिमको पहिलो पर्यटकीय गन्तव्य खप्तड पर्यटन विकास र रामारोसन पर्यटन विकास समितिका लागि भन्दै ४ करोड रुपैया बजेट विनियोजन गरेको छ । नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले पनि खप्तड क्षेत्रका लागि छुट्याइएको यो बजेट हात्तीको मुखमा जिराजस्तै भएको बताए ।

कर्मचारी व्यवस्थापनमै आधा खर्च हुने भन्दै उनले विनियोजित बजेट अर्थहीन भएको आरोप लगाए । साथै सरकारले पुरानै योजनामा बजेट विनियोजन गरेको तर नयाँ गन्तव्यको खोजी नभएकोले यसरी कुनै हालतमा पर्यटन क्षेत्रको विकास सम्भव नहुने भट्टको भनाइ छ । सरकारले ल्याएको यस प्रकारको असन्तुलित बजेटका कारण निजी क्षेत्र धरापमा मात्र होईनन विस्थापित हुने अवस्थामा समेत पुगेको उनीहरुको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x