Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोदावरीमा मण्डला प्रतियोगिता हुने

गोदावरीमा मण्डला प्रतियोगिता हुने


काठमाडौं । गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन कात्तिक १७ गते गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो ।

युवा पुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले झीःझी पुचद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक ऊर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताए । आध्यात्मिक प्रतीकहरूको ज्यामितीय तथा पञ्चमहाभूतसहित सिङ्गो ब्रह्माण्डको सूक्ष्म प्रतिनिधित्व गर्ने मण्ड (मण्डला) नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ । कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्यरूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यंटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पुर्याउने कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले बताए ।

व्यक्तिगत तथा संस्थागतरूपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर छ घण्टाभित्र एउटा चार वर्गफिटको मण्डला बनाउनुपर्नेछ । महिला पुरुष जोकोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्ट्रार गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समूह मात्र समावेश गरिने बताइएको छ । यस कार्यक्रममा आवश्यक पर्ने पाँचथरी रंगलगायत अन्य सामग्रीजस्तै चक, इन्ची टेप, धागो, प्लास्टिक कोन, कचौराइत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने छ । सो प्रतियोगितामा तीन हजारदेखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा आफूसँग भएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकले आह्वान समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x