Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो


काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो जारी छ । तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ तिहार फ्लोरा एक्स्पो २०८१ शुक्रबारबाट सो एक्स्पो सुरु भएको हो ।

पाँच दिने तिहार फ्लोरा एक्स्पोमा ६५ वटा फूल तथा नर्सरीको व्यावसायिक स्टल तथा परामर्श कक्ष रहेका छन् । मेलामा ७० लाख बढीको कारोबार हुने अपेक्षा गरिएको छ । एक्स्पोको बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले शुक्रबार उद्घाटन गरेका थिए । कार्यक्रममा उनले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । साथै, पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको पनि व्यवस्था गरिने उनको भनाइ थियो । रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्वबजारमा लैजाने गरी उत्पादन गर्न जोड दिँदै उनले यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बताए ।

प्राकृतिक फूलको प्रयोग गरी प्लास्टिकजन्य फूलको प्रयोग पूर्णरूपमा निषेध गर्न उनले सुझाव समेत दिए । साथै, गत असोज दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेस गरे राहतका लागि सहयोग गर्ने उनको भनाइ थियो । वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राईले प्लास्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको बताए । सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवद्र्धन गर्न उनले जोड दिए । गत वर्ष आयातीत सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फुड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उनले सुनाए । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको उनले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने यिनको प्रवद्र्धनमा ध्यान नदिएकोमा गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् निर्यात प्रवर्द्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवद्र्धन गर्न सकिने बताए । पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले सयपत्री फूलको प्रवद्र्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपाल अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले विदेशी फूल बिरुवा आयातलाई निरुत्साहीत गर्न र स्वदेशी फूल नर्सरी तथा जडीबुटीको प्रबर्द्धनको लागि मेला साझा प्लाटफर्म भएको बताए । कार्यक्रममा विभिन्न सात विधामा उत्कृष्ट भएकालाई शिल्ड, नगद तथा प्रमाण पत्रसहित सम्मान पनि गरिएको थियो । मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध ७ सय बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ ।

साथै, मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, बीउविजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x