Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र


इनरुवा, पुस ६
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचारप्रसारलगायत अन्य तयारी तीव्र पारिएको हो । प्रचारका क्रममा सिक्किम पुगेर समेत त्यहाँका मुख्यमन्त्री तथा सिक्किमका बासिन्दालाई निम्तो दिइएको छ ।

सिक्किममा पत्रकार सम्मेलन गरी सिक्किमवासीलाई महोत्सवमा निम्तो गरिएको हो । प्रदेश १ का उद्योग वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियतलाई भेटेर परियोजना प्रस्ताव गरिएको संयोजक घिमिरेले बताए । महोत्सवमा म्याराथनसहित विभिन्न खेलकुद प्रतियोगिता हुनेछन् । सदरमुकाम फुङलिङदेखि तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुनेछ । महोत्सव अवधिभर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, तिम्बुङ पोखरी, फुङफुङे झरनालगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टरमार्फत अवलोकन गराइने व्यवस्था मिलाइएको संयोजक घिमिरेले जानकारी दिए ।

महोत्सव अवधिभर कृषि मेला प्रदर्शनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रदर्शनी, खाद्य परिकार महोत्सव, फोटो प्रदर्शनी, स्थानीय जातजाति तथा समुदाय विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टल राख्ने तयारी गरिएको छ । हरेक दिन प्याराग्लाइडिङको मज्जा समेत लिन सकिनेछ । ‘पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x