Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकम र प्याब्सनबीच सम्झौता

टेलिकम र प्याब्सनबीच सम्झौता


काठमाडौं, भदौ १७
नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच टेलिकमले उपलब्ध गराइरहेको इन्टरनेट सेवा सहज रुपमा पाउने सम्झौता भएको छ । कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराइरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र प्याब्सनबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराइरहेको न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं इ–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका हुन् ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मंगलबारदेखि नै लागू हुने गरी विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको टेलिकमले जनाएको छ ।

सो प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी)को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

सो सम्झौताअनुसार टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोधसहितको जानकारी पठाउनेछ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची ईडीयूप्याक एट एनटीसी डट नेट डट एनपीमा इमेलमार्फत पठाउनुपर्नेछ ।

यसका साथै विद्यार्थीहरुले कलेजको सहायताविना नै आफैँ नेपाल टेलिकमको वेबसाइटमा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् । यस्ता किसिमका इ–लर्निङ एप्लिकेसनहरुको प्रयोगको लागि भविष्यमा धेरै भोल्युमको आवश्यकता परेमा प्रयोगकर्ताहरुको आवश्यकताबमोजिम नेपाल टेलिकमले सस्तो दरमा थप भोल्युम तथा इ–लर्निङ एप्लिकेसनहरु समेत उपलब्ध गराउने छ । ह्याप्पी लर्निङ प्याक उपयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा आबद्ध रहेका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x