Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुन्दर यातायात दोस्रो वर्षमा

सुन्दर यातायात दोस्रो वर्षमा


काठमाडौं, भदौ २३
विद्युतीय बस सञ्चालनमा ल्याउने उद्देश्यले स्थापित सुन्दर यातायात प्रालिले एक वर्ष पूरा गरेको छ । छोटो समयमा यस कम्पनीले राष्ट्रिय आवश्यकता र मुलुकको समृद्वि तथा आधुनिकीकरणसँग सम्बन्धित महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकेको कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए ।

कम्पनीले एक वर्षको अवधिमा गरेका कार्यहरु सार्वजनिक समेत गरेको छ । स्थापनाको पहिलो वर्ष संरचनागत तथा नीतिगत व्यवस्थामै बित्ने भए पनि कम्पनीले पहिलो वर्षमै काठमाडौं उपत्यकाभित्र विद्युतीय बस सञ्चालन गरेर आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सकेको जनाएको छ । कोभिड—१९ का कारण तयारी अवस्थामा रहेका कैयौं योजनालाई कार्यान्वयन गर्न नसकेको पनि कम्पनीको भनाइ छ । यद्यपि सामान्यीकरण हुँदासाथ उपत्यकाभित्र १५ र बुटवल तथा विराटनगरमा पाँच/पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

सुन्दर यातायात प्रालिको अभिन्न अंगको रुपमा रहेको सुन्दर इन्जिनियरिङ्गको माध्यमबाट चीनको प्रख्यात बीएके कम्पनी र सिचुवान अटो मोबाइल कम्पनीसँग मिलेर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल प्लान्ट स्थापना गर्ने प्रक्रिया सुरु भए पनि कोरोना महामारीका कारण अवरुद्व हुनपुगेको कम्पनीको भनाइ छ ।

यसका लागि लगानी बोर्ड तथा उद्योग विभागसँग आवश्यक समन्वय भइसकेकोले स्थिति सामान्यीकरण भएको एक वर्षभित्र उद्योग कार्यान्वयनमा आउने र यसबाट यातायातको क्षेत्रमा वैदेशिक लगानीको मार्ग प्रशस्त हुने बताइएको छ । साथै कम्पनीले कोभिड—१९ को अवस्था सामान्य हुँदासाथ नेपाल सरकारको मापदण्डभित्र रही उपत्यका तथा देशको विभिन्न सहरहरुभित्र विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने जनाएको छ ।

यसैगरी कम्पनीले कोभिड—१९ लाई केन्द्रित गरी नेपालमै पहिलो पटक उपत्यका प्रवेश गर्ने नाका नागढुंगा तथा भक्तपुरको जगतेमा सवारी डिसिन्फेक्सन टनेल निर्माण गरी सुरक्षित यात्रालाई सहयोग पु-याएको बताएको छ । साथै कम्पनीले महामारीको अवस्थामा यात्रुको ज्वरो परीक्षण गरेर मात्र बसमा चढाउने तथा स्यानिटाइजर एवं मास्कको व्यवस्था गर्नुका साथै दोब्बर भाडा लिन पाउने व्यवस्था भए पनि साविक भाडामै सेवा उपलब्ध गराएको थियो । सुन्दर इन्जिनियरिङ्गको माध्यमबाट पोर्टेबल शौचालय निर्माण गरी सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी हस्तान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x