Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा, पुनरुत्थान चुनौतीपूर्ण

पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा, पुनरुत्थान चुनौतीपूर्ण


काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा व्यहोर्नुपरेकाले यसको पुनरुत्थान चुनौतीपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आईतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्नेसम्बन्धी भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा मन्त्री भट्टराईले सावधानीपूर्वक पर्यटकीय गतिविधि खुला गर्न सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।

पर्यटन क्षेत्र सुचारु गर्न अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ्ग पास लिएको ७२ घण्टा भित्रको पीसीआर टेस्ट नेगेटिभ लिएर आउँदा पर्यटकलाई नेपाल आउन रोक नभएको उनले बताए । अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनि उनको भनाई थियो । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनर्स्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी दिए ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले कोभिडसँग डराएरभन्दा पनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्था आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग तथा सेवा सुचारु गर्दा निजी क्षेत्रसँगको छलफल तथा समन्वयमा जारी गरिने स्वास्थ्य प्रोटोकलको पालना गराउन परिसंघ प्रतिबद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । पर्यटन पुनरुत्थानका कामहरु सुस्त भएको, डिमाण्ड शुल्क मिनाहा गर्नेलगायत बजेट तथा मौद्रिक नीतिमा आएका राहतको कार्यान्वयनमा ढिलाइ भइरहेको तर्फ अध्यक्ष मोरले मन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

राहत कार्यान्वयनमा ढिलाइ हुँदा भइरहेको क्षतिको जिम्मेवारी लिन पनि सरकार तयार हुनुपर्ने अध्यक्ष मोरले बताए । परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघसंस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनुपर्ने र उडानहरुलाई अकस्मात् रद्द गर्ने निर्णय लिन नहुने बताए । हवाइ इन्धनको शुल्क कम गरेर तथा पर्यटकीय पूर्वाधारको सुधार गरेर उड्डयन सेवालाई राहत दिन पनि मित्तलले आग्रह गरे ।

होटल एसोसिएसनका पूर्वअध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबै पक्षमा विश्वास दिलाउन सहकार्य गरिनुपर्ने बताए । कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसा प्रदान गरिनुपर्ने तथा पर्यटकसँग नेपाल भित्रिसकेपछि पीसीआर टेष्ट अनिवार्य गर्ने सो अवधिका लागि क्वारेन्टाइनको समय तीन दिनमा सीमित गर्ने तथा पीसीआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जान पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताए ।

यसैगरी पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा नेपाल सरकारले जारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिङ्ग एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीहरूले पालना गराउन प्रतिबद्धता पनि व्यक्त गरे । परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले कुनै पर्यटक, यात्रु वा पर्यटन क्षेत्रका सम्बद्ध कर्मचारीलाई कोभिड संक्रमण भेटिएमा उपचार र कन्ट्याक्ट ट्रेसिङ गर्ने तर यसकै आधारमा उडान रद्द गर्ने वा होटल सिल गर्ने अवस्थामा जानु हुँदैन भन्नेमा जोड दिइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया