Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसार्वजनिक यातयातद्वारा यात्रीहरूसँग चर्को भाडा असुली

सार्वजनिक यातयातद्वारा यात्रीहरूसँग चर्को भाडा असुली


सन्तोष पौडेल
वीरगञ्ज ।
वीरगञ्जबाट विभिन्न ठाउँका लागि सञ्चालित बससेवा सुरू भए पनि यात्रीहरूले चर्को भाडा तिर्न बाध्य भएका छन् । वीरगञ्जबाट काठमाडौँ, पोखरा, नारायणगढ, जनकपुर, विराटनगरलगायतका ठाउँका लागि अहिले सार्वजनिक यातायातअन्तर्गत बस सेवा सुरू भएको छ । सरकारले तोकिएको दररेटमा ५० प्रतिशत वृद्धि गर्न निर्देशन दिए पनि अहिले सोविपरीत मनोमानी तरिकाले भाडा लिइँदै छ । वीरगञ्जबाट चल्ने रात्रिसेवाका बसहरू र टाटासुमोले बढी भाडा लिने गरेको यात्रीहरूले गुनासो गरेका छन् । टाटासुमोले प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँभन्दा बढी भाडा लिने गरेको यात्रीहरूले बताए ।

वीरगञ्ज बसपार्कमा टाटासुमो राखेर सेवा सञ्चालन नगरी दुई नं बाइपास सडकका ग्यारेजहरूमा लुकाएर राख्ने र यात्रीहरू जम्मा गरी बढी मूल्य लिएर पठाउने गरेको पाइएको छ । बसपार्कमा बढी भाडा लिँदा प्रहरी हस्तक्षेप हुने भएकोले दुई नं बाइपास सडकमा टाटासुमो राखेर यस्तो कार्य भइरहेको यात्रीहरूले बताए । अहिले टाटासुमोमा पाँच जना यात्री मात्र लैजाने पाइन्छ । यसैगरी रात्रिसेवाका डिलक्स, सुपर डिलक्स तथा एयरकन्डिसन बसले यात्रीहरूसँग मनोमानी भाडा लिइरहेका छन् ।

बसहरूले बढेको भाडादरभन्दा दुईदेखि तीनसय रूपैयाँ बढी लिने गरेको यात्रीहरूले बताएका छन् । सार्वजनिक यातायातमा सवारी गर्ने यात्रीहरूले अहिले अनिवार्य रूपले नेपालीको हकमा नागरिकता र भारतीयको हकमा पिसिआर रिपोर्ट हुनैपर्छ । तर बसपार्कका कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट तयार गरेर भारतीयहरूलाई पठाइरहेका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि वीरगञ्जका संयोजक सुमन श्रेष्ठले यात्रा गर्नको लागि भारतीय नागरिकको हकमा पीसीआर र नेपालीको हकमा नागरिकता हुनुपर्ने बताए । अहिले सार्वजनिक यातायातका सेवा लिनेहरूमा पोखरा, काठमाडौँ, नारायणगढ जाने यात्रीहरूमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय हुने गरेको उनको भनाइ छ । सीमा सिल आफैँमा खोजीको विषय भएको छ । लकडाउन, निषेधाज्ञासँगै करिब छ महिनापछि सञ्चालनमा आएको सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरूसँग मनोमानी भाडा लिने कार्य भइरहे पनि यसको अनुगमन र यात्रीहरूको गुनासो बुझेर कारबाही गर्ने निकाय मौन छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया