Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमद्वारा विभिन्न भाषामा जनचेतनामूलक सन्देश प्रसारण

नेपाल टेलिकमद्वारा विभिन्न भाषामा जनचेतनामूलक सन्देश प्रसारण


काठमाडौं ।
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक–फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाबारे जानकारी प्रदान गर्दै आएको जनाएको छ । उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाति तथा समुदायसम्म पु-याउने उद्देश्यले तिनै स्थानीय भाषामा पठाएको टेलिकमले जानकारी दिएको छ ।

यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको कम्पनीले जनाएको छ । विभिन्न बोल भएका फरक–फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायलमार्फत प्रसारण भइरहेका छन् ।

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइसलगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरि छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया