Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतीन चाडमा टेलिकमको एसएमएस प्याक

तीन चाडमा टेलिकमको एसएमएस प्याक


काठमाडौं ।
नेपालीहरुको महान् पर्व तिहार, छठ तथा नेपाल संवत्को नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश (एसएमएस) पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् । कम्पनीका अनुसार ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस उपलब्ध छन् । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

२० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटा एसएमएसका लागि एसएमएस७० र ३०० वटा एसएमएसका लागि एसएमएस३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी स्टार १४१५ स्टार १ स्टार ५ ह्याक्स डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यी एसएमएस एक महिनासम्म कुनै पनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिदसम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत स्टार १४१५ स्टार २ ह्याक्स डायल गर्न सकिन्छ ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याकअन्तर्गत दुई सय रुपैयाँ, पाँच सय रुपैयाँ, एक हजार रुपैयाँ र एक हजार पाँच सय रुपैयाँ दरका विभिन्न अफरअन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया